कहिलेकाहीं मनमनै सोच्छु, यो खुशी के हो र कहां भेटिएला? मेरो मनले तत्कालै मलाई जवाफ फर्काउंछ, “कति जिन्दगीको टेन्सन लिन्छस यार? जा क्रिकेट हेर।” शनिबारको दिन थियो, धेरै समय पछि एकपटक फेरी जुनियर क्रिकेट नियाल्ने विचारमा पुगेको थिएं। नेपाली क्रिकेटको भविष्य यिनै बाबुनानीको हातमा भएकोले पनि हुन सक्छ, मलाई उदाउंदा प्रतिभाको खोजी गर्नु मन लाग्छ। एन्जेल्स क्रिकेट एकेडेमीले यु१४ क्रिकेट प्रतियोगिताको आयोजना गरेको थियो। सबै काम सकेर करिब ११ बजे पुग्दा नेक्सस क्रिकेट एकेडेमी र अक्षरा स्कुलको म्याच चलिरहेको थियो।
बच्चाहरु रमाईलो गर्दै थिए, नेक्ससको ७ वर्षको फुच्चे क्रिकेटर चन्दन दासलाई काखमा राखेर गफ गर्दै क्रिकेट हेर्न थालें।
“बाबु, कहां हो घर, को संग बस्छौ यहां, भोलीपर्सी के बन्ने?” भन्दै चन्दनसंग गफ गर्दै गर्दा, एउटा सर्ट लेन्थमा आएको बललाई, ब्याट्समेनले पुल गरेर मैदान बाहिर पुर्याईदिए। ब्याटको मिठ्ठो आवाज संगै बलले निकै लामो दुरी पार गर्यो। खुशी भएं। पुन: एकछिनमा मिडियम पेशर अभिशेकको गुड लेन्थको बललाई ब्याट्समेनले एकदम” क्लीन हिट” गरी ब्याटको “स्वीट साउन्ड” सहित स्ट्रेटमा छक्का प्रहार गरे, म दंग परें। मनमनै सोचें, सचिन तेन्दुलकरको जति मिठो स्ट्रेटमा छक्का कसैको लागेको छैन जिन्दगीमा, सायद सचिनले पनि यसै गरी सिकेको हुनुपर्छ। पछाडी पट्टी भाईहरु भन्दै थिए, “यसरी त अब अदित दाईलाई आउट गर्न गाह्रो हुन्छ है।”
यसो पछाडी फर्केर बाबु अगाडी आउ त भनी ति भाईलाई बोलाएर अदितको बारेमा थोरै सोधी खोजी गरें। यतिकैमा पत्ता लगाएं कि अदित पहिले नेक्सस बाट पनि खेलेका रहेछन्।
विस्तारै खेल अघि बढ्दै थियो, उनले फेरी एउटा सर्ट लेन्थको बल पुल गरेर मैदानको बाहिर पुर्याईदिए। मैदानलाई घेरेको अग्लो हरियो जाली पनि कटेर बल बाहिर हरायो। त्यही बल पछि अर्को नयां बल आयो, त्यो बल पनि त्यसै गरी छक्का भयो र हरायो। त्यसपछि अर्को नयां बल पनि आयो। तेश्रो बललाई अदितले स्टेप आउट गरेर यसरी छक्का हाने फाईन लेगको दिशातर्फ कि मनमनै लाग्यो “यिनले पक्का केही गरेर देखाउनेछन्” । यति बेलासम्म उनले आफ्नो व्यक्तिगत अर्धशतक पुरा गरेर शतक तर्फ अघि बढिसेकेका थिए। १६ ओवरको खेल थियो, उनले यति आकर्षक खेल खेल्न सुरु गरे की म यहां लेखेर वयान गर्न असमर्थ नै हुनेछु। उनी ९८* को अवस्थामा पुगिसकेका थिए, शतक बनाउन २ रन बांकी रहंदा उनले सर्ट अफ लेन्थमा आएको बललाई लेग साईडमा छक्का हानी शतक पुरा गरे। सबैले उठेर ताली बजायौं तर उनले न हेलमेट खोले न ब्याट उठाए। उनले आफ्नो शतक सेलिब्रेट नगर्नुको अर्थ यो थियो कि उनी आफ्नो शतकीय पारी बाट अझै सन्तुष्ट थिएनन, अझ बढी रन बनाउन चाहान्थे।
उनले यति मजाले खेलिरहेका थिए कि त्यहां बसेर खेल हेर्ने सबै मन्त्रमुग्ध भईसकेका थिए। सबैको अनुहारमा एउटा छुट्टै हर्षको मुस्कान छाईरहेको थियो। उनको सटमा परिपक्वता थियो, ब्याटको सही टाईमिङबाट निस्कने मिठो आवाज निस्किरहेको थियो, उनी निकै आत्मविश्वासका साथ ब्याटिङ गरिरहेका थिए। सट सेलेक्सन देखि बलरमाथी हावी भएर खेल्नुमा उनको खुबी देखिन्थ्यो। उनले यसरी खेल्ने क्रममा, ६३ बलको सामना गरी, नट् आउट रहेर १७१ रन बनाए। केही महिना पहिले स्कुल लिग क्रिकेटमा बेस्ट ब्याट्समेनको उपाधी पाएका अदित सुबेदीको यस ईनिंग एक स्पेशल ईनिङ रहनेमा दुईमत छैन, मैदानमा केही कमी कमजोरी थिए तर उनको आत्मविश्वास र प्रतिभाको भने उच्च कदर गरिनुपर्छ। यी भविष्यका उदाउंदै गरेका सिताराको अझ बढी ख्याल गरिनुपर्छ। सिक्ने समय धेरै बांकी छ, आफ्नो कला र कौशल तिखार्दै र आफ्नो कमी कमजोरी सुधार गरी अघि बढ्ने हो भने अदित सुवेदी भविष्यका भरपर्दा ब्याट्समेनको रुपमा आउनेमा कुनै द्विविधा मान्न पर्ने स्थिती छैन।
उनको यस पारीले मेरो मनले मागेको खुशी उनको ब्याट बाट भेटें, यिनै बच्चाहरुको क्रिकेट प्रतिको माया र लगावमा भेटें। १६ ओवरको खेलमा, अक्षरा स्कुलले अदित सुवेदीको ६३ बलमा १७१* को सहयोगले २५० रनको विशाल टार्गेट पेश गरेको थियो।
