आगामी अगस्ट २९ देखि शुरु हुन लागेको एसिया कप क्वालिफायरका लागि १९ सदस्सीय प्रारम्भिक टोलीको घोषणा भएको छ । प्रशिक्षक जगत टमाटा तथा कप्तान पारस खड्काले गरेको चयनमा मलेसियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका अलराउन्डर सागर पुनले स्थान बनाउँदा शरद भेषवाकर भने चोटका कारण अटाउन सकेनन् ।
भारतका अपूर्व देसाई एसिया कप क्वालिफायर खेल्ने नेपाली टोलीको ब्याटिंग प्रशिक्षकका रुपमा नियुक्त भएका छन् । नेदरलयाण्ड्स भ्रमणलाई आफ्नो अन्तिम विदेश भ्रमण बताएका स्पिनर शक्ति गौचन तथा नेदरलयाण्ड्ससँगकोे एकदिवसीय खेलमा चोट बोकेका शरद भेषवाकरलाई टिममा समावेश गरिएन ।
नेपाली टोलीका टेक्निकल एनालिस्ट रमन शिवाकोटीका अनुसार शरदलाई पुनः खेल मैदानमा उत्रिन करीब ४ हप्ता समय लाग्नेछ । अगस्ट १४ बाट नेपाली टोलीको बन्द प्रशिक्षण शुरु हुनेछ भने अगस्ट २० मा टोली अभ्यास खेलका लागि श्रीलंका प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उक्त बन्द प्रशिक्षणबाट अन्तिम १५ सदस्यीय टोली घोषणा गरिनेछ ।
छनोट प्रतियोगिता आगामी भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुँदैछ । उक्त प्रतियोगितामा युनाइटेड अरब इमिरेट, हङकङ, नेपाल, सिंगापुर, मलेसिया र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।
