क्रिकेट संग सम्बन्धित नियम तथा शब्दावलीको एक विस्तृत संख्या छ। यदी तपाईं क्रिकेट भर्खरै मात्र बुझ्दै हुनुहुन्छ भने हामी तपाईंलाई सहयोग गर्नेछौं। यो अबको ५ मिनेट तपाईंको लागि, निकै फलदायक हुनेछ। हामी केही शब्दहरु बुझाउन चाहान्छौं जुन क्रिकेटमा निकै महत्वपुर्ण छन्।
१. ब्याट्सम्यान:
ब्याट समातेर रन बनाउने खेलाडीलाई ब्याट्सम्यान भनिन्छ।
२. बलरः
बल समातेर ब्याट्सम्यानको विकेट लिन प्रयास गर्ने खेलाडीलाई बलर भनिन्छ।
३. अल राउन्डरः
जुन खेलाडी ब्याटिंग र बलिङ दुबै गर्न अब्बल छ, उसलाई अलराउन्डर भनिन्छ।
४. अपिल:
कुनै पनि ब्याट्सम्यानको विकेट लिन (आउट गर्न) बलिंग गर्ने साईडले अम्पायर सामु “How’s that?” भनेर सोध्नुपर्छ या अपिल गर्नु पर्छ।
५. स्टम्प:
ब्याट्सम्यानले ब्याटिंग गर्दा स्टम्पलाई केही मात्रामा छेकेर बसेको हुन्छ, यो पिचको दुईतिर ३-३ वटा हुन्छन्। स्टम्पको माथि २टा बेल राखिएको हुन्छ। बलरले बलिंग गर्दा, फिल्डरले ब्याट्सम्यान क्रिजबाहिर हुंदा, बल स्टम्पमा लागेर बेल झरेमा ब्याट्सम्यान आउट हुन्छ।
६. विकेट:
ब्याट्सम्यान आउट हुनुलाई विकेट भनिन्छ। बोल्ड आउट, क्याच आउट, रन आउट, स्टम्प्ड आउट, हिट विकेट यसका प्रकारहरु हुन्।
यी केही आधारभुत कुरा पछि केही ब्याटिङ पक्षका केही शब्दावली हेरौं:
१. स्ट्राईक रेट:
स्ट्राईक रेट भन्नाले ब्याट्सम्यानको खेल अनुसार, १०० बलमा कति रन हान्न सक्छ? भन्ने गणितिय अंक हो। यदि कुनै ब्याटस्म्यानले २० बलमा ३० रन जोडेको छ भने उसको स्ट्राईक रेट (३० रन/२० बल *१००) गरी १५० हुन जान्छ। सामान्यतय: टि-२० मा स्ट्राईक रेट १३० भन्दा माथि र वान डे मा १०० को आशपासलाई राम्रो मानिन्छ।
२. अर्धशतक/शतक:
ब्याट्सम्यानले ५० रन बनाए अर्धशतक र १०० रन बनाए शतक भनिन्छ।
३. क्रिकेटमा ब्याट्सम्यानका सटहरु:
फ्रन्ट फुट सटहरु:
कभर ड्राईभ, अफ ड्राईभ, स्ट्रेट ड्राईभ, अन/लेग ड्राईभ
ब्याक फुट सटहरु:
ब्याक फुट डिफेन्स, स्क्वायर कट, ब्याक फुट पन्च, पुल सट, हुक सट
(यी सट्हरु कसरी खेलिन्छन्, विस्तृतमा बुझ्न अागामी लेख कुर्नुहोला)
बलिङ पक्षमा प्रयोग हुने शब्दाबली:
१. ओवर:
प्रत्येक ६ बलको १ ओवर हुन्छ। बलरले एक्स्ट्रा फालेमा १ ओवरमा धेरै बल हुनपनि सक्छ।
२. मेडन:
यदि बलरले एक ओवरमा कुनै पनि रन दिएनन भने, मतलब ६ वटै डट बल फाल्न सफल भए भने, त्यो ओवरलाई मेडन ओवर भनिन्छ।
३. ईकोनोमी:
ईकोनोमी भन्नाले कुनैपनि बलरले बलिङ गर्दा औसत १ ओवरमा कति रन दिएको छ भन्ने बुझिन्छ। उदाहरणका लागि कुनै बलरले आफ्नो ५ ओवरमा ४० रन दिएका छन् भने उनको ईकोनोमी (४० रन/५ ओवर) ८ रन प्रति ओवर को हुन्छ। यसलाई कतै Econ. लेखिएको हुन्छ।
(क्रिकेट नेपालको उदयमान र सर्वाधिक रुचाईएको खेल हो। यस खेलको सम्पुर्ण जानकारी नेपालीमै बुझाउन जरुरी ठानी प्रयत्न गरेका छौं, कृपया आगामी दिनमा हामीसंगै रहनुहोला।)
यो पनि जान्नुहोस:
कसरी खेलिन्छ टेस्ट क्रिकेट?
