एकाएक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सामाजिक सन्जालमा राखेको एक पोस्ट भाईरल भयो। भारतको विख्यात ईन्डियन ईन्स्टिच्युट अफ टेक्नोलोजी (IIT मद्रास) का प्रोफेसर विग्नेशले बायो टेक्नोलोजीमा पढ्नुपर्ने Material and Energy Balance विषयको एक प्रश्न बनाए।
जुन यस प्रकारको थियो,
“दिन र रात गरी खेलिने क्रिकेट म्याचमा शीतले प्रत्यक्ष असर गर्दछ। आउटफिल्डमा रहने अत्याधिक शीतले बललाई चिसो बनाउंछ। स्पिनरको लागि, चिसो बललाई ग्रिपमा राखेर बल डेलिभर गर्दा स्पीनमा समस्या आउंछ। तीब्र गतिका बलरलाई भने आफुले चाहेको लेन्थमा बल फ्याल्न मुस्किल पर्छ। त्यसैले यसले गर्दा फिल्डिङ गर्ने टिमलाई घाटा पर्न जाने सम्भावना हुन्छ। आईपीयल २०१९, मे ७ मा, चेन्नई सुपर किङ्गस चेपौक स्टेडियममा प्लेअफ खेल्दै छ जसमा मौसम पुर्वानुमान शाखाले चेन्नईको उक्त दिनको सापेक्षिक आद्रता ७०% जनाएको छ। म्याचको सुरुवात हुंदा त्यहांको तापक्रम ३९ डिग्री सेल्सियस रहनेछ भने दोश्रो पारीको सुरुवात सम्म खेल पुग्दा, तापक्रम घटेर २७ डिग्री सेल्सियस पुग्ने छ। यी सुचनालाई आधार मानेर अब भन्नुहोस, महेन्द्र सिंह धोनीले टस जितेको खण्डमा ब्याटिङ कि बलिङ रोज्नुपर्छ? नोट: सही विश्लेषण विनाको उत्तरलाई पोईन्ट दिईने छैन”
सामाजिक सन्जालमा यस शैक्षिक पद्दतिलाई निकै स्वागत गरिएको छ, एक हिसाबले भन्नुपर्दा दैनिक जीवनमा प्रयोग हुने यस्ता विज्ञानका पाटोलाई विद्यार्थीले रमाईलो गरी, हिसाब गर्ने भएर पनि प्रोफेसर विग्नेशले राम्रो तारिफ कमाएका छन्। वास्तवमा बालबालिका र युवा रमाईलो गरेर आफुले बुझ्ने शैली पढ्न रुचाउंछन्। अझ भनौं, भारत जस्तो देश जहां क्रिकेटलाई धर्म र आईपियललाई चाडको रुपमा लिने गरिन्छ, विद्यार्थीहरुलाई यी शैक्षिक पद्दतिले थप उर्जा प्रदान गर्दछ।
