युरोप भ्रमण अन्तर्गत नेपालले आफ्नो चौथो तथा अन्तिम अभ्यास खेलमा इष्ट लण्डनलाई १३४ रनको फराकिलो जित हात पारेको छ । यसअघि दोस्रो अभ्यास खेलमा पराजय बेहोरेको नेपालले पहिलो तथा तेस्रो खेलमा भने जित दर्ता गराएको थियो ।टस हारेर ब्याटिंगको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा २५१ रनको स्कोर तयार गर्न ४ विकेट गुमाएको थियो । केही समय यता फर्ममा नरहेका नेपाली उपकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ७५ रनको पारी खेलेका थिए । ४७ बलको सामना गरेका ज्ञानेन्द्रले ५चौका र ६ छक्का प्रहार गर्दा कप्तान पारस खड्का तथा दिपेन्द्र सिंह ऐरीले समान ६७ रन बनाएका थिए । अघिल्लो म्याचका हिरो अनिल कुमार शाह भने ८ रनमा पवेलियन फर्केका थिए ।२५२ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले निर्धारित २० ओभरमा ११७र९ मा खुम्चिन पुगेको थियो । घरेलु टोलीको लागि ताकी अब्बासले सर्वाधिक रन बनाउने क्रममा ३२ रनको पारी खेलेका थिए । नेपाली बलरहरुमा सन्दीप लामिछानेले ३ ओभरमा १ मेडनसहित २ रन खर्चेर ३ विकेट लिएका थिए । ललित राजबंशीले २ विकेट लिँदा करण केसी, दिपेन्द्र ऐरी र शरद भेषवाकरले समान १र१ विकेट लिएका थिए ।
नेपालले अब जुलाई २८ तारिकमा एमसीसी र नेदरल्याण्डविरुद्ध टीट्वान्टी तथा अगस्ट १ र ३ मा नेदरल्याण्डविरुद्ध एकदिवसीय खेल खेल्ने कार्यक्रम रहेको छ ।
