नेक्सस क्रिकेट एकेडेमी पेप्सीकोला काठमाण्डौको आयोजनामा, २ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम यहि चैत्र १४ र १५ गते सम्पन्न हुने भएको छ | दक्ष प्रशिक्षकको प्रशिक्षणले मात्र भविष्यमा राम्रा खेलाडी उत्पादन हुने तथ्यलाई मध्यनजर गर्दै, BCCI लेभल २ तथा ICC लेभल १ गरिसकेका राहुल साहानीलाई नेपाल ल्याई उक्त कार्यक्रम सम्पन्न गर्न लागिएको आयोजकले बताएका छन्|
नेक्सस क्रिकेट एकेडेमीमा विहान ९ बजेदेखि १२ बजेसम्म संचालन हुने उक्त कार्यक्रममा काठमाण्डौमा रहेका एकेडेमी, स्कूल, कलेज तथा विभिन्न क्लबहरुमा कार्यरत क्रिकेट प्रशिक्षक एबम खेल शिक्षकहरुको सहभागिता हुने अपेक्षा आयोजकले गरेका छन्| निशुल्क सेमिनार हुने बताउंदै नेक्सस क्रिकेट एकेडेमीका प्रवन्ध निर्देशक विजय शर्माले ICC लेभल १ को कोर्षमा आधारित रहेर एक असल प्रशिक्षकले प्रशिक्षार्थीलाई कसरी क्रिकेट सिकाउने भन्ने ज्ञान दिइने समेत बताउनु भयो|
को हुन् राहुल साहानी?
नेपालको वाग्लुंग जिल्ला घर भई हाल भारतको जम्मु काश्मिरमा स्थायी वसोवास गर्दै आएका साहानी, त्यहाँका कहलिएका क्रिकेट प्रशिक्षक हुन्| जम्मु काश्मिर राज्य सरकारले उनलाई यु १४ टिमको जिम्मा दिएको छ| त्यस्तै उनी एसियाकै पांच तारे एकेडेमीका रुपमा चिनिने अभिमन्यु क्रिकेट एकेडेमी देहरादुनमा नियमित प्रशिक्षकका रुपमा समेत कार्यरत छन्| भारतीय क्रिकेट बोर्डद्वारा संचालित BCCI लेभल २ कोर्ष गरिसकेका साहनीले ICC को लेभल १ समेत गरेका छन् भने विभिन्न देशका क्रिकेट टिमलाई कन्सल्ट्यान्टका रुपमा समेत प्रशिक्षण दिईसकेका छन्|
नेपाली भएकै कारण नेपालका लागि केहि गर्ने अठोट बोकेका राहुल साहानी, विगत ६ महिना देखि नेक्शस क्रिकेट एकेडेमीसंग सहकार्य गरि क्याम्प तथा सेमिनारहरु गरिरहेका छन्| भारतकै प्रख्यात प्रशिक्षक दिनेश नानाभातीलाइ नेक्ससमा ल्याएर खेलाडी तथा प्रशिक्षकहरुलाई प्रशिक्षण समेत दिईसकेका छन्| २/४ दिन छुट्टी मिल्ने वित्तिकै नेपाल आउने राहुल यस पटक ICC लेभल १ पुरा गरि सिधै दुबईबाट ५ दिनका लागि नेपाल आएका हुन्| उनि भन्छन् “२/४ दिन फुर्सद हुदा पनि खाली बस्नुभन्दा नेपाल आएर, आफुले सिकेका कुरा सिकाउन पाउँदा आनन्द आउछ| त्यसकारण नेपाल आउदा यस्ता खालका कार्यक्रम गरिरहन्छु|”
