नेपाली क्रिकेटमा ब्याटिंग सदैव टाउको दुखाईको अवस्था बनिरहंदा नयां तथा युवा ब्याट्सम्यानले भने केही उत्साह थपेका छन्। चाहे ती युवा खेलाडी आरिफ सेख हुन्, दिपेन्द्र या अनिल शाह। टिम गम्भीर अवस्थामा रहंदा, यी ब्याट्समेनले भने टिमको पारी सम्हाल्दै राम्रो स्ट्राईक रेटका साथ रन बनाईरहेका छन्। क्रिकेटमा धेरै रन बनाउनु राम्रो कुरा हो तर रनसंगै टिमलाई चाहिंदा राम्रो स्ट्राईक रेटका साथ रन बनाउनु थप महत्वपुर्ण कुरा हो।
विशेष गरी, चलिरहेको एशिया कप क्वाविफायरमा पनि सिनियर खेलाडीबाट अपेक्षित प्रदर्शन भने हुन सकिरहेको छैन। अग्रपंक्ति देखि हेर्दा यस क्वालिफायरमा सुवास खकुरेलको ब्याटबाट राम्रो रन बनेको हेर्ने चाहाना धेरैको थियो। टिमको स्कोरमा उनको महत्वपुर्ण रनको योगदान भएतापनि उनको स्ट्राईक रेट भने त्यति राम्रो मान्न सकिंदैन। यस अवस्थामा नेपाललाई खेल जित्नु मात्र नभएर राम्रो रनरेट मेन्टेन गर्नु पनि एक वाध्यता रहेको छ।
सोही अनुरुप ब्याट्सम्यानले रन गति पनि बढाउनु आवश्यक रहेको छ। टिममा आफ्नो स्थान बनाईराख्ने अवस्था भन्दापनि टिमको जरुरत अनुसार सुझबुझका साथ राम्रो रन गतिका साथ खेलिरहेका युवा ब्याट्सम्यानबाट, सिनियर खेलाडीले पनि बुझ्नुपर्ने देखिन्छ। युवा खेलाडी आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र अनिल शाहको सुझबुझलाई निकै राम्रो र आशलाग्दो प्रदर्शन मान्न सकिन्छ।
