तस्वीर: रमन शिवाकोटी
एकदिवसीय विश्वकप छनौट प्रतियोगिताको पहिलो खेलमा नेपाल जिम्बाबेसँग ११६ को विशाल अन्तरले पराजित भएको छ । जिम्बाबेले बनाएको ३८० रनको विशाल योगफल पछ्याएको नेपालले निर्धारित ५० ओभरमा २६४ रनमा सीमित हुन पुग्यो ।
आयोजक जिम्बाबेले खेलमा टस जितेर ३८० रनको विशाल योगफल तयार गरेको थियो । जिम्बाबेका लागि सिकन्दर राजाले ६६ बलमा १२३ रन को योगदान दिएका थिए भने ब्रेन्डन टेलरले पनि आफ्नो शतक पुरा गरेका थिए । आजको खेलमा नेपाली बलरले अपेक्षा अनुरुपको प्रदर्शन गर्न नसक्दा जिम्बाबेले ठूलो स्कोर खडा गरेको थियो । नेपाली बलरहरुमध्ये वसन्त रेग्मीले १० ओभरमा २ विकेट हात पारे भने सोमपाल कामीले २ विकेट लिन ८ ओभरमा ८२ रन खर्च गरे । ललित राजवंशी र सन्दीप लामिछानेले १÷१ विकेट हात पारे ।
जवाफी ब्याटिंगमा नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६४ रन बनायो । नेपालका लागि शरद भेषवाकरले ५२ तथा आरिफ सेखले ५० रनको योगदान दिए । कप्तान पारस खड्काले ३७ बलमा ४० रन बनाए ।
नेपालले आफ्नो दोस्रो खेलमा २४ गते स्कटल्याण्डको सामना गर्नेछ । आजै भएको अर्को खेलमा स्कटल्याण्डले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको छ ।
स्कोरकार्ड हेर्नुस
