यूरोप भ्रमणअन्तर्गत हैम्पसायर होग्स विरुद्धको पहिलो अभ्यास खेलमा नेपालले २४३ रनको विशाल जित दर्ता गराएको छ । पारस खड्काले १६१ रनको तुफानी पारी खेल्दा ललित राजबंशीले ५ विकेट लिन सफल भएका थिए ।
कप्तान पारस खड्काले १०६ बलमा १६१ रनको सानदार पारी खेल्दै नेपाललाई विशाल स्कोरतर्फ अग्रसर गराएका थिए । कप्तान पारसले आफ्नो पारीमा १९ चौका र ७ छक्का प्रहार गरेका थिए । पारसका अलावा रोहित कुमार पौडेलले ४४ रनको योगदान दिँदा दिपेन्द्र सिंह ऐरीले ३७ रनको योगदान दिएका थिए । आरिफ शेखले २७ तथा करण केसीले १८ रन बनाउँदा नेपालले ३६३ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
जवाफी ब्याटिंगमा आएको हैम्पसायर होग्स ११९ रनमा समेटिएको थियो । होग्सलाई सस्तैमा समेट्ने क्रममा ललित राजबंशीले ५ विकेट लिएका थिए । ललितले १० ओभरमा ४ मेडनसहित ३४ रन मात्र दिएर ५ विकेट लिएका थिए । त्यसैगरी सन्दीप लामिछाने तथा दिपेन्द्र ऐरीले समान २/२ विकेट लिएका थिए ।
