अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सार्वजनिक गरेको वान डे वरियतामा नेपाली खेलाडीले पहिलो पटक आफ्नो स्थान बनाएका छन् ।नेदरल्याण्ड विरुद्ध दोस्रो खेलमा ३ विकेट लिँदै नेपाललाई १ रनको महत्त्वपूर्ण जित दिलाउन मुख्य भूमिका खेलेका युवा लेग स्पिनर सन्दीप लामिछाने बलरको वरीयतामा २ सय १७ औं स्थानमा रहेका छन् ।नेदरल्याण्डविरुद्ध नेपालको पहिलो खेलमा ४ विकेट लिँदै वानडेमा डेब्यु गरेका कप्तान पारस खड्का बलरको वरीयतामा २ सय ३८ औं स्थानमा छन् । अलराउन्डरको सूचीमा सोमपाल कामी १ सय ९९ र पारस २ सय २१ औं स्थानमा छन् । सोमपालले दोस्रो खेलमा ६१ र पारसले ५१ तथा उपकप्तान ज्ञानेन्द्र मल्लले पहिलो खेलमा ५१ रन बनाएका थिए । वान–डे अन्तर्राष्ट्रिय ब्याटिङको वरीयतामा सोमपाल २ सय २९, ज्ञानेन्द्र २ सय ३६ र पारस २ सय ४८ औं स्थानमा छन् ।
यसअघि यही साउन २३ गते आईसीसीले सार्वजनिक गरेको टी–२० वरीयतामा कप्तान पारस खड्का, शरद भेषवाकर, बसन्त रेग्मी र सोमपाल कामी शीर्ष १०० भित्र परेका थिए। पारस ९०औं स्थान, शरद ९८औं स्थानमा, वसन्त ७१ औं स्थानमा तथा सोमपाल ९२औं स्थानमा परेका थिए ।
