नेपालले एसीसी एशिया कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेल भोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। बायुमास ओभल मैदानमा हुने उक्त खेल नेपाली समय अनुसार विहान पौने आठ बजेबाट सुरु हुनेछ । सोमबार मलेसिया पुगेको नेपाली टिमका कप्तान पारस खड्काले मलेसियाको परिचित भएतापनि ओमान राम्रो टिम रहेको र कमजोरका प्रतिद्वन्दीका रुपमा नलिने बताए । ओमान, नेपालका लागि कुनै नौलो टिम भने होईन। यी दुई चितपरिचित प्रतिद्वन्दीले अहिलेसम्म ६ पटक खेलेका छन, जसमा नेपालले ३ खेल जितेको छ भने पछिल्ला केही वर्षयता नेपालले ओमानविरुद्ध जित निकाल्न भने सकेको सकेको छैन । सन् २००२ को एसीसी ट्रफीमा नेपालले ओमानलाई १०५ रनले हराउंदा २०१० मा नेपालले ६ विकेटले विजय हासिल गर्न सफल भएको थियो । २०१३ को डिभिजन थ्रीमा नेपालले जित निकालेपनि त्यसपछि भएका दुई खेलमा भने नेपाल ओमानसंग पराजित भएको छ । २०१४ को एसीसी प्रिमियर लिगमा नेपाल विरुद्ध २ विकेटको जित पछि २०१८ को वर्ल्ड क्रिकेट लिग डिभिजन टु मा ओमानले ६ विकेटको जित हात पारेको थियो ।
प्रतियोगितामा नेपालले दोस्रो खेलमा युएईसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताका लागि क्यारेवियन प्रिमियर लिग खेल्न गएका नेपाली युवा स्टार सन्दिप लामिछाने पनि आज मलेसिया पुगिसकेका छन्।
